धरान : फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाका लागि इटहरीका एक कलाकार र ग्रिनतारा ग्रुप अफ कम्पनीले प्रेस चौतारी नेपाल सुनसरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

सुनसरीका पत्रकारहरूका लागि इटहरी १ निवासी कलाकार माधव केसीले तिन हजार पिस मास्क र ग्रीनतारा ग्रुपले एक हजार पिस मास्क, स्यानिटाइजर र ह्यान्ड वास प्रदान गरेको हो ।

कलाकार केसीले धरानमा आफै आएर प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेश बाबु काफ्ले र सचिव विकास चाम्लिङ राईको हातमा स्वास्थ्य सामाग्री प्रदान गरेको हो । त्यस्तै बुधवार ग्रिन तारा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक सम्राट् श्रेष्ठले आफ्नो इटहरी स्थित कार्यलयवाट सङ्गठनका पदाधिकारीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।

प्रेस चौतारी नेपालले अग्रपङत्तीमा खटिएका पत्रकारहरूलाई वितरण गर्न स्वास्थ्य सामाग्री सङ्कलन गरिरहेको प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बास्तोलाले जानकारी दिए । प्रेस चौतारी द्वारा सङ्कलन गरिएका स्वास्थ्य सामाग्री पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घ सुनसरीलाई एक मुष्ट प्रदान गर्ने र माहासङ्घले आवश्यकता अनुसार उक्त स्वास्थ्य सामाग्री पत्रकारहरूलाई वितरण गर्ने चौतारीका सुनसरी सचिव विकाश चाम्लिङ राईले जानकारी गराएका छन् । ५ हजार पिस मास्क र ३ लिटर स्यानिटाइजर महासङ्घलाई चौतारीले दिन लागेको चाम्लिङले बताए ।

सुनसरीमा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएको महासङ्घ सुनसरीले जनाएको छ । १ जना गम्भीर अवस्थामा उपचार भइरहेको छ । ११ जना होम आइसोलेसनमा रहेको र एक जना भरखरै मात्र कोरोनालाई जितेर सामान्य अवस्थामा आइसकेका छन् । सुनसरी जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढेकोले पत्रकारहरूलाई नगई नहुने बाहेक घर बाहिर ननिस्कन पत्रकार महासङ्घ सुनसरीले आग्रह गरेको छ ।

परिस्थितिको संवेदनशीलता अनुसार घरमै बसेर रिपोर्टिङ गर्ने तथा काम गर्ने वातावरण तयार गर्न सम्बन्धित सञ्चार गृहहरूलाई अनुरोध गरिएको महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राईले बताएका छन् ।