धरान : धरान-९ पुतली लाइनमा रहेको विजयपुर हस्पिटलमा आज देखि कोभिड पहिलो चरणमा १० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

नेपाल सरकारको निर्णय अनुसार १ सय बेड बरावर २० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्टाउनुपर्ने अनुसार विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।

धरान उपमहानगरपालिका र विजयपुर हस्पिटलको समन्वयमा सुरु भएको कोभिड अस्पतालमा आज पहिलो चरणमा १० बेड सञ्चालनमा ल्याइएको विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए ।

आज सञ्चालनमा आएको पहिलो दिन नै ५ जना कोरोना सङ्क्रमित बिरामी अस्पतालमा भर्ना भएका छन् । भर्ना भएका सबै बिरामी धरानकै रहेका छन् ।

उपचार सशुल्क हुने दैनिक ३५ सय देखि १५ हजार सम्मको बिरामीको अवस्था हेरेर बेड शुल्क लाग्ने निर्देशक खतिवडाले बताए । १० बेड सञ्चालनमा आएको र बाँकी १० बेड सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।

विजयपुर हस्पिटलको गाइनो, सर्जरी र डेन्टल वार्ड बन्द गरी सरकारी निर्देशन अनुसार कोभिड अस्पताल निजी स्तरबाट सञ्चालनमा ल्याइएको सो अस्पतालमा अक्सिजन सहितको बेड देखि लिएर २ वटा आइसियु र एउटा भेन्टिलेटर रहेको बताइएको छ ।

Covid-Hospital 1