झापा : कोभिड उपचारका लागि अस्पतालमा बसेका बिरामीहरू बिहानै फ्रेस हुन्छन्। खुल्ला ठाउँमा जान्छन अनि योगा गर्छन् । दमकको कोभिड उपचार केन्द्रमा २, ३ दिन यता बिरामी, कुरुवा र स्वास्थ्यकर्मीहरुले नियमित रूपमा योग गर्छन्।

हरेक दिन बिहान ७ देखि ८ बजे सम्म अस्पतालकै प्रांगणमा योग चल्छ। योग प्रशिक्षक गङ्गा ढकाल र शान्ता ढकालले हरेक दिन योग प्रशिक्षण दिन्छन् । दमक कोभिड उपचार केन्द्रकी फोकल पर्सन देवी दंगालका अनुसार कोरोना सङ्क्रमितमा सबै भन्दा बढी समस्या फोक्सोमा देखिन्छ।

फोक्सोलाई स्वस्थे बनाउनका लागि योगले थप मद्दत गर्छ, उनले भनिन्, त्यस कारणले पनि योगमा सबैको उत्साह छ।

प्रशिक्षक ढकालका अनुसार अक्सिजनको मात्रा बढाउनका लागि प्राणायाम गरिन्छ। त्यसले बिरामीलाई स्वस्थे बनाउन सहयोग पुग्छ, उनले भने 'नाक देखि फोक्सोसम्मको मार्गलाई स्फूर्त बनाउँछ। उनका अनुसार श्वासप्रश्वास सम्बन्धी व्यायाम हुने गरेको छ।'

दमक कोभिड उपचार केन्द्रमा अहिले १७ जना बिरामी छन् । अहिले सम्म १९ जना निको भएर फर्केको दंगालले जानकारी दिइन् ।