विराटनगर : हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले तिन जनालाई पक्राउ गरेको छ ।

आज (बिहीबार) दिउँसो मोरङको विराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका विराटनगर-१३ का २५ वर्षीय श्रवण साह र रङ्गेली नगरपालिका-१ की २५ वर्षीय जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुन्डी कारोबारबाट प्राप्त रकम रहेको खुल्न आएसँगै उक्त कार्यमा संलग्न विराटनगर-१३ का ३३ वर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो।

साह र चौधरीको साथबाट प्रहरीले एक्काईस लाख एकहत्तर हजार पाँच सय र भारतीय तेइस हजार रुपैयाँ तथा विभिन्न बैकका चेकहरू बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोबाइल तथा नगद डिपोजिट रसिद बरामद गरेको छ।

ठुलो मात्रामा नगद रकम सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी बुझाउने तयारी भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ।