विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड-१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छिन् ।

प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग आज भएको छलफलका क्रममा मन्त्री राईले सो कुरा बताएकी हुन् ।

कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरू सञ्चालन गर्नुपर्ने उनले बताइन् । छलफलका क्रममा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरूका लागि खोपको व्यवस्था गर्न माग गरे ।

उनले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बनाइने बताए । उनले भने,‘ सधैँ विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकोमा जोड दिए । उनीहरूले खोपलाई प्राथमिकता दिन आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।