धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा धरान-१७ का कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान- १७ बस्ने ७३ वर्षीय वृद्ध पुरुषको गए राति ९ः४५ बजे उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

तीन दिन अघि कोरोना पोजेटिभ भएका वृद्ध होम आइसोलेसनमै बस्दै आएकोमा हिजो बेलुकी अचानक स्वास्थ्यमा समस्या देखिएपछि कोभिड अस्पताल भर्ना भएका थिए ।

दिर्घरोगी रहेका वृद्धको परिवारले स्वास्थ्य मापदण्ड अनुसार आज दिउसो धरान-१७ को जङ्गलमा दाहसंस्कार गर्ने बताइएको छ । यो सँगै धरानमा वैशाख यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।