धरान : लकडाउनको कारण बन्द रहेको धरान १३ को कृषि उपज बजार आज देखि हरेक दिन बिहान २ घण्टा खुल्ने भएको छ ।

धरान उपमहानगरपालिकामा हिजो कृषि बजार, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य विज्ञसहितको टोलीबिच भएको छलफलले बिहान ४ बजेदेखि ६ बजेसम्म कृषि बजार खोल्ने सहमति गरेको थियो ।

सोही सहमति अनुसार आज बिहान २ घण्टा कृषि बजार खुलेको व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार उपभोक्ताको घर घरमा सिधै डेलिभरी गर्ने व्यापारीहरूको लागि मात्र तरकारी बिक्री गरिने उनले बताएका छन् ।

लकडाउनका कारण तरकारीजन्य बस्तुमा कालोबजारी हुन थालेको भन्दै पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अव देखि हरेक दिन बिहान ४ बजे देखि ६ बजे सम्म कृषि बजार खुल्ला हुनेछ ।

आज पहिलो दिन १ सय बोरा आलु र १ सय बोरा प्याज, ३ टन टमाटर र अरू तरकारीजन्य बस्तुहरू कृषि बजारबाट बाहिरिएको व्यवस्थापक भट्टराईले बताए ।

ज्येष्ठ १ गते देखि बन्द रहेको कृषि बजार खुल्ला भए पनि खुद्रा तरकारी खरिद बिक्री हुने छैन । समूहमा मिलेर धेरै मात्रामा तरकारी खरिद गरेर उपभोक्ताले आफ्नो आवश्यकता अनुसार तरकारी बाँड्न सक्ने गरी आलु खरिद गर्दा बोरा नै किन्ने गरी खोलिएको कृषि उपज बजार स्थलले जनाएको छ ।