इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीले मुलुकलाई द्वन्द्व लैजाने षड्यन्त्र गरेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न आग्रहलाई राष्ट्रपतिले स्वीकृति दिए सँगै कोइरालाले षड्यन्त्र भएको बताएका हुन् ।

बिहीबार साँझ ट्विट गर्दै उनले संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६(५) लागु गर्नु र सो अनुरूप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउने काम भएको प्रस्ट पारे ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारी संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्रमा लागेको उनको आरोप छ । राष्ट्रपति भण्डारीले ७६(५) बमोजिम सरकार गठन गर्न शुक्रवार साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।