इटहरी : नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै हालतमा परास्त गर्नुपर्ने बताएको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेबिसंघले राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कारिन्दा मात्र भएकाले संविधानको रक्षाको लागी दुवैलाई परास्त गर्नुपर्ने बताएको हो ।

केन्द्रीय सभापति राजीव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको पक्षमा राष्ट्रपति साक्षी हुनु दुःखद रहेको उल्लेख गरिएको छ ।

संविधानको गलत प्रयोग गर्दै प्रधानमन्त्रीले राजीनामा नदिई वा पदमुक्त नभई नयाँ सरकारको लागी मार्ग प्रशस्त गर्न खोज्नु लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार प्रधानमन्त्रीले राजीनामा नगरी धारा ७६ को उपधार ५ बमोजिम सरकार गठन गर्न सिफारिस गरेको र उक्त सिफारिस अनुसार राष्ट्रपतिले शुक्रवार साँझ ५ बजेसम्मको लागी नयाँ सरकार गठनको लागी म्याद दिएकी छिन् ।

उपधार ३ र ४ बमोजिम सरकार चल्ने अवस्थामा एक्कासि उपधार ५ प्रयोग गर्नु लज्जास्पद भएको नेबिसंघको तर्क छ । संसद् विघटन गर्ने र सक्ता कब्जा गर्ने रणनीति अन्तरगत भएको यस्ता असंवैधानिक कदमको घोर भर्त्सना गर्दै ओली र भण्डारीलाई परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोना महामारीले हजारौँ नेपालीको अकालमा मृत्यु भइरहेको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपतिको चरित्रले आफूहरू लज्जित भएको सभापति ढुङ्गानाको भनाई छ ।

अस्पतालमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेला कसरी सत्ता टिकाउने र जनताको ध्यान मोड्ने भन्नेमा प्रधानमन्त्री लागी परेको उल्लेख गरे ।

देश र जनताको भयावह अवस्था सृजना हुँदा पनि संवेदनहीन भएर नाटक मञ्चनमा लाग्नु आपत्तिजनक भएको उनले बताए । अब जुनसुकै हालतमा पनि ओली र भण्डारीको गठबन्धनलाई परास्त गर्न लाग्नुपर्ने उनको बुझाइ छ ।

Nebisngh-Bigyapti