धरान : धरानमा गोड्ने बेला भएको मकैमा फौजी किराको प्रकोप देखिएको छ। धरानको विजयपुर, पानबारी, देउराली, पत्रङबारी, दनाबारी, पटनालीमा फौजी किरा देखा परेको छ ।
मकै गोड्दै गरेकी धरान-१४ की मिना तामाङले भनिन् 'प्रत्येक बोटभित्र किरा छन, गुबो र पात खाइदिएका छन्,’ बोटहरू बढ्ने अवस्थामा छैनन् । गोड्ने बेला भएका मकै हेर्न लायक छैनन् ।'
यस्तै बालकृष्ण विष्टले अढाई कठ्ठा बारीका मकै छरेको तर सबै किराले खाएको बताएका छन् । धरान-१४ कै सिता थापाले पनि मकै फल्दैन जस्तो लागेर नगोडेको बताएकी छिन्। उनले भनिन् 'किराले गुबो खाइदिए पछि बोट बढ्न सक्दैन पोहोर पनि यस्तो भएको थियो।'
श्याम थापाले आफूले किराबारे बताउँदा उपमहानगरले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । अन्य नगर गाउँपालिकामा किसानलाई उपमहानगरले सहजीकरण गरेको तर आफ्नोमा बेवास्ता गरेको गुनासो गरे ।
धरान उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख नगेन्द्र तामाङसँग फौजी किराको प्रकोपबारे कुरा गर्दा उनले उपमहानगरको आन्तरिक कोषबाट कृषिमा आकस्मिक बजेट ८ लाख छुटाएको बताएका छन् ।
उनले गतवर्ष पनि हामीले वडा सँग समन्वयन गरेर फौजी किरा नियन्त्रणका लागि स्थानीयहरूलाई औषधी उपलब्ध गराएको बताए। तर उनले यस पटक लकडाउनले गर्दा उपलब्ध गराउन नसकिने बताए । यसबारेमा आफू गम्भीर भएको स्थानीयलाई पहिलाको जस्तो वडा सँग समन्वयन गरेर किरा नष्ट गर्ने औषधी उपलब्ध गराउने विश्वास दिलाएका छन्।
सुनसरीका केही ठाउँमा फौजी किरा देखा परेको र फौजी किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरूसँग व्यापक छलफल भइरहेको सुनसरी कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताए ।