धरान : धरान उपमहानगरपालिकाको वडा नं.-१३ मा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च हुँदै गएपछि भोलि देखि ज्येष्ठ १५ गते सम्म सिल गर्ने निर्णय भएको छ ।

धरान-१३ को सम्पूर्ण वडा, धरानको लक्ष्मीचौक, पृथ्वी चौक देखि उत्तर निशाने खोला सम्म, पश्चिममा सर्दुखोला ओशो पार्क, देबीमार्ग, झोलुङ्गे पुल हुँदै सुम्निमा चौक सम्मको क्षेत्र सिल गरिएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।

अध्यक्ष काफ्लेका अनुसार १३ नम्बर वडामा मात्रै अहिले सम्म धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको रेकर्ड अनुसार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाहरू रहेको र अरू परीक्षण नगरेकाहरू र लक्षण देखिएकाहरू गरी ५० भन्दा बढी सङ्क्रमित वडामै रहेको हुनाले वडालाई सिल गरेर कोरोना नियन्त्रण गर्ने अभियानमा लागेको बताइएको छ ।

कोरोना सङ्क्रमणबाट जोगिन, सतर्क, सजग बन्न, सामाजिक दुरी कायम गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि वडा कार्यालयले वडावासीलाई अनुरोध गरेको छ ।