इटहरी : कोरोना सङ्क्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको अवस्थामा यसको नियन्त्रण, रोकथाम र उपचारकालागि हिमालयन सिद्धमहायोगको माध्यमबाट सुनसरीको चतरामा विशेष अनुष्ठान गरिने भएको छ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुर तथा जगतगुरु रामानान्दाचार्य सेवा पीठ चतराधामको संयुक्त आयोजनामा आगामी जेठ १२ गतेदेखि १५ दिने विशेष अनुष्ठानको आयोजना हुन लागेको हो। विभिन्न सामाजिक सञ्जाल फेसबुक, युट्युब लगायत केही सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गराइ भर्चुअल माध्यमबाट आयोजना हुने अनुष्ठान अन्तरगत लाखौँ सर्वसाधारणलाई सहभागी गराइ कोरोनाको नियन्त्रण र रोकथाम र उपचारका लागि आवश्यक सात्विक दिनचर्या र भोजन, योगचर्य, आयुर्वेदिक उपचार पद्धति लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको शनिवार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

विशेष अनुष्ठान कार्यक्रम अन्तरगत प्राचीन हरिद्वारको रूपमा रहेको चतराधामस्थित रामानान्दाचार्य पीठको केन्द्रीय कार्यालयबाट प्रत्येक दिन बिहान ५ बजेदेखि दुई घण्टासम्म जगतगुरु रामानान्दाचार्य महायोगी सिद्धबाबाले आफूसँग भएको योग, आयुर्वेदिक, आध्यात्मिक लगायतका क्षेत्रको ज्ञान, दक्षता र अनुभवलाई प्रत्यक्ष वैज्ञानिक अवधारणाबाट पुष्टि हुने गरी प्रशिक्षण दिने बताइएको छ।

पत्रकार सम्मेलनमा जगतगुरु सिद्धबाबाले स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने, रोगी व्यक्तिको रोग निर्मूल पार्ने तथा वर्तमान अवस्थामा कोरोना महामारीबाट आम सर्वसाधारणको जीवन रक्षा गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए। मानव जीवनका लागि स्वस्थ रहनका लागि ऋतु अनुसार आवश्यक पर्ने दिनचर्या, भोजनचर्या, योगचर्या र संयमित तथा सदाचारयुक्त आचरण लगायतका विषयलाई अत्यन्तै वैज्ञानिक अवधारणाबाट जोडेर आयोजना हुने अनुष्ठान अन्तरगतको प्रशिक्षण कार्यक्रमबाट सबै जातजाति धर्म सम्प्रदायले लाभ लिन सक्ने उनले उल्लेख गरे।

“कोरोना सङ्क्रमणकालीन यो जटिलताबाट प्रताडित बनिरहेको हाम्रो समाजलाई हिमालयन सिद्धमहायोगको माध्यमबाट गरिने विशेष अनुष्ठान र त्यस अन्तरगतको प्रशिक्षण कार्यक्रमले आवश्यक राहत दिने कुरामा हामी विश्वस्त छौँ ।”, जगतगुरु सिद्धबाबाको भनाइ छ। पारस्परिक वैदिक आयुर्वेदिक पद्धति समेत अनुसरण गरी सञ्चालन हुने १५ दिने अनुष्ठानमा सबै नेपालीहरू दत्तचित्त भएर सहभागी हुन सके मुलुकबाट कोरोना परास्त गर्न सकिने जगतगुरु महायोगी सिद्धबाबाले विश्वास व्यक्त गरे। 

कोरोना महामारीबाट मुलुक आक्रान्त बनिरहेको र यस दुखद घडीमा आवश्यक औषधि, खोप, अक्सिजन लगायत स्वास्थ्य उपकरणको चरम अभाव भइरहेको अवस्थामा आवश्यक सहयोग गर्न स्वास्थ्य मन्त्रालयले समेत गरेको आह्वानलाई दृष्टिगत गरी मुलुकलाई परेको यो विपत्तीको समयलाई आवश्यक कर्तव्य निर्वाह गर्ने गरी विशेष अनुष्ठानको नाममा प्रशिक्षण कार्यक्रम आयोजनाको निर्णय भएको पीठका अध्यक्ष गणेश सुब्बा विरहीले जानकारी दिए। सो पत्रकार सम्मेलनमा पिठका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारी, उपाध्यक्ष विश्वप्रकाश पण्डित, शिवराज पौडेल लगायतले अभियानका सन्दर्भमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए । 

जगतगुरु रामानान्दचार्य सेवा पीठले दश महिना अघि चतरा स्थित पीठको भवनलाई १ नम्बर प्रदेश सरकारसँगको समन्वयमा होल्डिगं एरिया, आइसोलेसन र क्वारेनटाइन सञ्चालन गरेर करिब बिस हजार सर्वसाधारणलाई सेवा प्रदान गरेको थियो ।