दमक : बिगठित प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेतृ महेन्द्रा कुमारी लिम्बुले झापा क्षेत्र नम्बर ५ र यस आसपासका कोरोना सङ्क्रमित बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएकी छन् ।

आफ्ना दिवङ्गत बुबा तथा प्रजातन्त्रका सेनानी मुगाधन राई र आमा कृष्णकुमारी राईको नाममा स्थापना भएको मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठान मार्फत सञ्चालित एम्बुलेन्सले झापा क्षेत्र नम्बर ५ र यस आसपासका बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्ने उनले जानकारी दिइन।

प्रतिष्ठानका अध्यक्ष समेत रहेकी पूर्व सांसद लिम्बुले सबै क्षेत्र, पेसा तथा व्यवसाय ठप्प रहेको र सबै कोरोनाको महामारी सँग जुधिरहेको बेला कुनै पनि नागरिक अस्पताल पुग्न नपाएर मृत्युको मुखमा पर्न नपरोस् भनेर आफ्नो तर्फबाट निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको बताइन ।

नेपाली काँग्रेस क्षेत्रीय समिति, प्रदेश क्षेत्र समिति र स्थानीय पालिकाका सभापतिहरू मार्फत एम्बुलेन्स सेवाको लागी समन्वय गर्न अथवा सिधै प्रतिष्ठानमा सम्पर्क गर्न पनि उनको आग्रह छ ।

यस विषम परिस्थितिमा एक अर्कालाई सहयोग गर्नु सबैको दायित्व भएको भन्दै उनले आफू जनप्रतिनिधि भएको नाताले जनताको जिउधन रक्षा आफ्नो पहिलो कर्तव्य रहेको पनि उनले बताइन ।