धरान : संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै धरानको भानुचोकमा शनिवार साँझ विरोध प्रदर्शन भएको छ।

संविधान माथि पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संविधान मिचेर चालेको कदम विरुद्ध अखिल (क्रान्तिकारी) सुनसरीले धरानको भानुचोकमा प्लेकार्ड प्रदर्शन गरी विरोध गरेको जानकारी दिएको छ।

संविधानको चीरहरण गर्ने ओली उनका रबर स्टाम्प जस्तै भूमिका खेल्ने कार्य विरुद्ध लकडाउन जस्तो अवस्थामा पनि सडकबाट सबैले प्रतिरोध गर्नु पर्ने बाध्यता सृजना भएको अखिल (क्रान्तिकारी) सुनसरीका इन्चार्ज खेम रनपहेलीले बताए ।

अखिल (क्रान्तिकारी) जिल्ला कमिटीको सचिवालयको सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस धरानका रबिन श्रेष्ठको नेतृत्वमा विरोध भएको हो ।

असंवैधानिक कदम खारेज गर, असंवैधानिक कदम मुर्दावाद र अनैतिकता कार्य बन्द गर जस्ता नारा लगाएर साङ्केतिक प्रदर्शन भएको थियो।