धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा अक्सिजन अभाव भएकोले सबै बिरामी भर्ना गर्न नसकिने भनी सूचना जारी गरिएको प्रति सुनसरीका प्रमुख जिल्ला अधिकारीले चासो राखेपछी प्रतिष्ठानले फेरि ध्यानाकर्षण पत्र जारी गरी बिरामी भर्ना गर्ने जनाएको छ ।

प्रतिष्ठानको सूचनामा प्रतिष्ठानमा भएका अक्सिजन प्लान्टमा देखा परेको समस्याका कारण उक्त प्लान्ट पूर्ण रूपले सञ्चालन नहुँदा सम्म प्रतिष्ठानमा उपलब्ध भएका अक्सिजन क्षमताका आधारमा मात्र नयाँ बिरामीलाई लिएर उपचार गराउने उल्लेख गरिएको थियो ।

प्रतिष्ठानका सह-प्रवक्ता डा.चूडामणि पोखरेलले हस्ताक्षर गरेको सूचनामा बिरामीले आफै अक्सिजन ल्याए भर्ना लिने नत्र नलिने भन्ने समचारहरुप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

प्रजिअ ढकालले भने "प्रतिष्ठानले अस्पतालमा अक्सिजन कमी भयो भनेर यसअघि सूचना जारी गर्दाको सूचना जस्तो अक्सिजन कम छैन । अक्सिजन पर्याप्त छ त्यसरी सूचना निकाल्दा नराम्रो असर पर्न गएकाले त्यसमा विश्वास भएर नडराउनुहोस्।"

प्रजिअले भने "सुनसरीबाट अन्य जिल्लाहरूमा अक्सिजन आपूर्ति हुँदा यस अस्पतालमा अक्सिजन अभाव हुन दिँदैनौ । यो एकदम गलत भएकाले प्रतिष्ठानलाई फेरी सूचना  सुधार गरेर निकाल्न लगाएको छु।"

प्रजिअ ढकालका अनुसार प्रतिष्ठानले हामीलाई एक पटक पनि अक्सिजन कमी भएको जानकारी दिएन। यसरी विज्ञप्ति निकाल्दा बिरामीहरू र बिरामीका परिवार डराएका छन्। तर, प्रतिष्ठानमा ठुलो सिलिन्डर २ सय हाराहारी र सानो सिलिन्डर ५ सय हाराहारीमा छन् । त्यसैले आत्तिनुपर्ने अवस्था छैन । यो सङ्ख्या कोभिड अस्पतालमा पर्याप्त भएको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरेका छन्।

उनले भने 'खाली सिलिन्डर भएमा फेरी भरेर हामी सङ्क्रमित बिरामीहरूको स्वास्थ्यमा खेलबाड हुन दिँदैनौ।'

जिल्लाले जारी गरेको लकडाउन पूर्ण रूपमा पालना गरेर स्वास्थ्य मापदण्ड अपनाएर सङ्क्रमण नियन्त्रण गर्न र सचेत र सजग रहन पनि प्रजिअ ढकालले जिल्लावासीहरूलाई आग्रह गरेका छन्।

BP-Dhyanakarsan