धरान : संसद् विघटन भएको विरुद्धमा धरानमा चार दलले संयुक्त रूपमा आज विरोध प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी र सङ्घीय लिम्बुवान परिषद्ले संयुक्त रूपमा संसद् विघटन विरुद्धमा धरानको भानुचोकमा विरोध प्रदर्शन गरेका हुन् ।

धरान-७ स्थित रहेको जनता समाजवादीको पार्टी कार्यालयबाट निस्किएको संयुक्त विरोध र्‍याली भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

भानुचौकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका थिए । विरोध सभामा नेपाली काँग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङ र माओवादीका नेता सुदर्शन श्रेष्ठले सम्बोधन गरेका थिए ।

नेपाली काँग्रेस सुनसरीका सचिव तामाङले नेपाली जनताहरू यति बेला कोभिडको आक्रान्तबाट गुज्रिरहेको अवस्थामा राहत र स्वास्थ्य सेवालाई सुलभ र सशक्त प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताउँदै मुलुकमा शक्ति र सत्ताको चलखेल सुरु भएको बताए ।

उनले विदेशी शक्तिहरूको आडमा अहिले मुलुकलाई अन्धकार र षड्यन्त्रको खाल्डोमा पुर्याउने प्रयास भइरहेको बताए । राष्ट्रपति र प्रधानमन्त्रीले बेमौसममा संसद् भङ्ग गरेर मध्यावधि निर्वाचनतर्फ मुलुकलाई लैजाने प्रयास भइरहेको बताउँदै सचिव तामाङले यो नितान्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको बताए ।

सर्वोच्च अदालतले जनता र संविधानको पक्षमा फैसला गर्नुपर्ने उहाँको भनाई थियो । जबसम्म संसद्को पुर्नवाहाली हुँदैन तबसम्म शान्तिपूर्णढंगबाट विरोधका कार्यक्रमहरूलाई निरन्तरता दिने उद्घोष गरे ।

कोभिडका कारण मुलुकमा बन्दाबन्दीले हजारौँ मजदुरहरूको परिवार बिचल्ली भइरहेको अवस्थामा प्रधानमन्त्रीले गैर जिम्मेवार काम गरेको बताए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको गैर जिम्मेवार कदम प्रति कठपुतली भएर साथ दिएको आरोप लगाए ।

Birodh 1