सुनसरी : इनरुवा नगरपालिकाका मेयर राजन मेहताले इनरुवा अस्पताललाई कोभिड अस्पताल सञ्चालन गर्नका लागि आवश्यक सामाग्री आइतबार अस्पताल विकास समितिलाई हस्तान्तरण गरेका छन् ।

इनरुवा अस्पतालको आकस्मिक कक्षलाई कोभिड अस्पताल बनाई सञ्चालन गर्नका लागि आवश्यक सामाग्रीको अभावका कारण सञ्चालनका कठिनाइ भएपछि मेयर मेहताको पहलमा सामाग्री उपलब्ध गराएर इनरुवा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

इनरुवा अस्पतालको आकस्मिक कक्षलाई २० बेडको कोभिड अस्पताल बनाई अक्सिजन सहितको सेवा सुचारु गर्नका लागि प्राविधिकहरूले काम समेत सुरु गरेका छन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधारहरूको बारेमा मेयर राजन मेहता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, स्वास्थ्य अधिकृत सन्तोष देव, स्वास्थ्य शाखाका निखिल पोखरेल,अस्पताल विकास समितिका अध्यक्ष भण्डारी, सदस्य तोया गिरी, नगरप्रमुखको स्वकीय सचिव सुनोज निरौला लगायतकाले अस्पतालको अवलोकन गरेका थिए ।

इनरुवा कोभिड अस्पतालमा दुई वटा आइसियु बेडको समेत व्यवस्था गरिएको मेयर मेहताले बताए । अक्सिजनको पाइप लगायतको सामाग्रीहरू जडान गर्ने काम प्राविधिक टोलीले सुरु गरेको जानकारी दिए । उक्त अस्पताल २–३ दिन भित्र काम सक्ने बित्तिकै इनरुवा कोभिड अस्पतालमा कोरोना सङ्क्रमितहरूलाई उपचार सुरु गर्ने समेत जानकारी दिए ।

इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवको टोलीले चार दिनको अथक प्रयासपछि वीरगन्जबाट अक्सिजनका आवश्यक सामाग्री उपलब्ध गराएर हस्तान्तरण गरेको हो । नगरप्रमुख मेहताले कोरोना सङ्क्रमणका लागि आफूले प्रयोग गरेको गाडी दिएपछि हाल विभिन्न ठाउँहरूमा साइकलबाट नै आवतजावत गर्ने गरेका छन् ।