इटहरी : कोरोना महामारी नियन्त्रण तथा रोकथाममा इटहरी उपमहानगरपालिका र विभिन्न राजनैतिकले सहकार्य गरेर अगाडी बढ्ने भएका छन् । कोरोना महामारी भयावह बन्दै गएपछि त्यसको नियन्त्रण र सङ्क्रमितको उपचारका लागि इटहरी उपमहानगरपालिका सँगै सहकार्य गरेर अगाडी बढ्न दलहरू सहमत भएका हुन्।

दल तथा प्रदेश र सङ्घीय सांसदलाई वास्ता नगरेको गुनासो बाहिर आएपछि उपमहानगरपालिकाले समन्वय गर्ने भएको छ । संवाद समूह सुनसरीले आइतबार बिहान आयोजना गरेको भर्चुअल कार्यक्रममा दलका नेता तथा सांसदहरू उपमहानगरको नेतृत्वमा अगाडी बढ्न सहमत भएका हुन्।

मेयर द्वारीकलाल चौधरीले एक दुई दिन भित्रमै दलहरूको सुझावको आधारमा छलफल गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी नेपाली काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले नगरपालिकाले अहिले सम्म समन्वय नगरेको र आफूहरूलाई नसोधेकोमा दुख व्यक्त गरे । "अहिले सम्म तपाँईहरु एक्लैले काम गर्नु भयो अब सँगै काम गरौँ । हामी उपमहानगरको नेतृत्वमा इटहरीवासी बचाउन जस्तोसुकै योगदान गर्न तयार छौ,” उनले भने ।

निवर्तमान प्रतिनिधिसभा सदस्य सिताराम मेहताले आफू इटहरी अस्पतालको स्तरोन्नतिका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । यसअघि पनि इटहरी अस्पतालका लागि एक करोड रुपैयाँ बजेट दिन्छु भन्दा स्थानीय सरकारले वास्ता नगरेको गुनासो गरे ।

प्रदेश १ प्रदेशसभा सदस्य लिलम बस्नेते आफ्नो जिम्मेवारीमा आएको काम अहिले सम्म पुरा गरेको तर उपमहानगरले वास्ता नगरेको सुनाए । योजना बनाएर संयुक्त काम नगर्दा समस्या झनै थपिएर जाने उनले बताए ।

नेकपा एमाले इटहरीका अध्यक्ष याम सुब्बाले नगरपालिको तत्काल दलहरूको सर्वपक्षीय बैठक राख्नुपर्ने धारणा राखे । सर्वपक्षीय बैठकपछि जिम्मेवारी तोकेर काम थाल्नुपर्ने उनको भनाई छ।

नेकपा एमाले माधव खनाल पक्षका नेता काशीनाथ दंगालले अहिले सम्म उपमहानगर आफैले सबै थोक गर्न सक्छु जसरी हिँडेको बताए । यसरी हिँडेर गन्तव्यमा नपुगिने उनको तर्क छ । पैसा नभएर भन्दा पनि समन्वयको अभावमा काम हुन नसकेको उनको भनाई छ ।

राहत वितरणमा ध्यान दिन आग्रह

लामो समयको लकडाउनका कारण विपन्न समुदायको रोगसँगै भोकको चपेटामा परेको भन्दै राहत वितरणको योजना बनाउन दलहरूले सुझाव दिएका छन् । दैनिक कमाइखाने वर्ग भोक भोकै भएको तर स्थानीय सरकारले ध्यान नदिएको उनीहरूको गुनासो छ ।

जनता समाजवादी पार्टीका नेता पदम अधिकारीले तत्काल गरिबका लागि खाद्यान्नको व्यवस्था मिलाउन माग गरेका छन् ।

काँग्रेस नगर सभापति पौडेलले गतबर्ष पनि राहत वितरण गरेको र यसपालि पनि पालिकालाई सहयोग गर्न तयार रहेको बताए । विपन्नका लागि राहतको प्याकेज घोषणा गर्ने र नगरपालिकाले एक द्वार प्रणालीबाट राहत वितरण थाल्नु पर्ने पौडेलको सुझाव छ ।

मेयर चौधरीले भने सङ्घीय सरकारले राहत वितरणमा रोक लगाएको राहतको प्याकेज नल्याएको बताए ।