विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् ।

यसका लागि प्रदेश सरकार सबै तवरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री राईले सङ्घीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए ।

आइतबार विराटनगरमा करुणा फाउन्डेसन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए ।

उनले सरकारले नागरिकलाई कोभिडको सङ्क्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । यो सङ्कटका बेला सरकारलाई सबैको साथ चाहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफूले सकेको सहयोग गर्नु पर्नेमा जोड दिए ।

उनले करुणा फाउन्डेसनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । करुणा फाउन्डेसनले सङ्खुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३/३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।