धरान : धरान १७ स्थित ‘रेल्वे यूथ क्लब’ले ‘कोभिड १९ राहत कोष’ स्थापना गरेको छ ।

क्लबका पदाधिकारी तथा सदस्यहरूले आइतबार बन्दाबन्दीका कारण आर्थिक रूपमा विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर परिवारका लागि कोभिड १९ राहत कोष स्थापना गरेका हुन् ।

राहत कोषका संयोजक एवं नेपाली काँग्रेस धरानका युवा नेता नरसिंह राईले कोषमा ४३ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।

विषम परिस्थितिमा १७ नं. वडाभित्र रहेका अति विपन्न, गरिब, दैनिक ज्यालादारी काम गरेर खाने मजदुरहरूका लागि खाद्यान्न, औषधी, निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यका साथ ‘रेल्वे यूथ क्लब’ले राहत कोष स्थापना गरेको संयोजक राईले बताए ।

उनले वडाभित्र रहेका लकडाउनका कारण समस्या परेका पीडितलाई ‘रेल्वे यूथ क्लबका पदाधिकारी तथा सदस्यहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । साथै यस अभियानमा जोडिन धरान १७ बासीलाई आह्वान समेत गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण सरकारले देशभर नै यसको रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरेको छ ।