इटहरी ः इटहरीमा पीसीआर परीक्षणको दायरा बढाइएको छ ।

इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सय जना बढीको परीक्षण सुरु गरिएको छ ।

पीसिआर र एन्टिजेन परीक्षणको दायरा बढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरि तयारी गरिएको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिएका छन् ।

दैनिक सय बढीको स्वाब सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्नका लागि गरिएको उपमहानगरको प्रस्ताव अनुरूप दैनिक सय बढीको पीसीआर परीक्षण सुरु गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाब पठाइएको छ । प्रत्येक दिन बिहान ७ बजे स्वाब सङ्कलन गरि बेलुका रिपोट आउने गरि प्रतिष्ठान सँग आग्रह गरिएको छ ।

उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक सामाग्रीको न्यूनतम शुल्क भुक्तानी गर्ने गरि प्रतिष्ठान सँग सहमति गरेको हो । उपमहानगरले नि:शूल्क परीक्षण गर्दै आएको छ । यसअघि स्वाब सङ्कलन गरेर प्रदेश ल्याबमा पठाइँदै आएको थियो ।

प्रदेश ल्याबमा पनि परीक्षणको दायरा बढाएर दैनिक सय पुर्‍याउन समन्वय भइरहेको छ । परीक्षणका लागि थप प्रयोगशालाकर्मीको व्यवस्था गरिएको जनस्वास्थ्य निरीक्षक रामकुमार धमलाले जानकारी दिए । उनका अनुसार अहिले पाँच जनाको टोलीले स्वाब सङ्कलनको कार्य गरिरहेको छ ।

यसअघि तीन जनाले गर्दै आएकोमा दुई जना सङ्क्रमित भएर आइसोलेसनमा छन् । इटहरी अस्पताल,खनार स्वास्थ्य चौकी र दुई जना अन्यन्त्रवाट व्यवस्था गरि पाँच जनाको टोलीले स्वाब सङ्कलन गरिरहेका छन् । यसैबिच इटहरी उपमहानगर एन्टिजेन परीक्षणका लागि समुदाय स्तरमा पुग्न थालेको छ ।

आज इटहरी २ शान्तिनगरमा पुगेर ३७ जनाको परीक्षण गर्दा सात जनाको पोजेटिभ पाइएको छ । यसअघि इटहरी वडा नम्बर ३ को सुनौलो टोलमा दुई पटक एन्टिजेन परीक्षण गरिएको छ ।

जोखिम क्षेत्रमा क्रमशः परीक्षण गरिने उपमेयर गौतमले जानकारी दिइन् । उपमहानगरले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्राक ट्रेसिङ, आइसोलेसनको व्यवस्था र उपचारको रणनीति लिएको छ ।