इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी रङ्गशालामा सञ्चालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका सङ्क्रमितहरूले बताएका छन् ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड सङ्क्रमितहरू सँग गरेको भेटघाटका क्रममा उनीहरूले खाना,औषधी र सुत्ने व्यवस्था साथै अक्सिजनको समेत राम्रो प्रबन्ध पाएको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।

उपप्रमुख गौतमले व्यवस्थापन कस्तो रहेको छ ? भनेर गरेको प्रश्नमा बिहान बेलुकी खाना,दुई पटक नास्ता,अण्डा,दुध,हरियो साग साथै मासुको समेत व्यवस्था रहेको आइसोलेसनमा बसेकाहरूले बताए ।

आइसोलेसनमा बस्नेहरूले यति राम्रो व्यवस्थापन छ भन्ने आफूहरूलाई नलागेको प्रतिक्रिया दिएका छन् । इटहरी उपमहानगरले इटहरी रङ्गशालामा २४ घण्टा स्वास्थ्यकर्मी सहित ५० बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । सबै बेडमा अक्सिजनको प्रबन्ध गरिएको छ ।