इटहरी : इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थाले इटहरीमा सञ्चालन गरेको आइसोलेसनलाई ३ महिनाकालागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ।

इटहरीमा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्री कृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुनलागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क दिने भएको हो।

सोमबार संस्थाका निमित्त व्यवस्था निर्देशक पर्शुराम कार्की मनोज सहितको टोलीले कोभिड व्यवस्थापन समितिका सदस्य एवम् प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी सहितका पदाधिकारी सङ प्रतिबद्धता पत्र सहित सम्झौता गरेका थिए ।

कामधेनुका नि. व्यवस्था निर्देशक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताए ।

इटहरीमा रहेको तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एक महिनाका लागि दूध तथा दुग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ। आइसोलेसन सञ्चालन तथा मूल व्यवस्थापन समिति संयोजक भीम पौडेल सँग डेरी उद्योगका अध्यक्ष प्रदीप अधिकारीले सम्झौता गरी प्रतिबद्धता जनाएका थिए ।

४० बेडमा अक्सिजन सहित पहिलो चरणमा जम्मा ८० बेडमा सञ्चालन हुने तयारीमा रहेको आइसोलेसन निर्माणको सम्पूर्ण तयारी सकिएको र सुरक्षा प्रबन्ध समेत मिलाइ सकिएको मूल समिति संयोजक पौडेलले बताए।

आइसोलेसनमा खेलकुदका सामग्रीहरू, फ्री इन्टरनेट सेवा सहित योगा गर्ने समेतको प्रबन्ध मिलाउन लागेको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताए।

tamor-dery-agreement