सुनसरी : नयाँ भेरिएन्ट सहितको दोस्रो चरणको कोरोना कहरका बिचमा इनरुवा अस्पताल सुनसरीमा कोरोना सङ्क्रमितको उपचारमा सहज हुने उद्देश्यले नेकपा एमाले नेतृ तथा फरवार्ड माइक्रो फाइनान्स दुहबीकी अध्यक्ष भगवती चौधरीले सोमबार चार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी छिन् ।

कोरोना सङ्क्रमितहरूले अक्सिजन अभाव तथा समय मै उपचार हुन् नसक्दा ज्यान गुमाउनु परी रहेको हुँदा इनरुवा अस्पताल मै कोरोना सङ्क्रमितहरूको उपचारमा सहजता हुने भन्दै अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन ।

अध्यक्ष चौधरीले इनरुवा अस्पतालका प्रशासन प्रमुख लोकेन्द्र आचार्यलाई चार थान ठुला ४७ लिटरवाला अक्सिजन सिलिंडर हस्तान्तरण गरेको जनाइएको छ । उनका अनुसार आफ्नो सानो सहयोगबाट कसैको ज्यान बचाउनमा मद्दत पुग्ने बताइन् ।

अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै चौधरीले ‘ फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा सङ्क्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको बताइन् ।

फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष चौधरीले केही दिन अगाडी बीपी प्रतिष्ठान धरानलाई ५० थान, कोशी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको पनि जानकारी दिइन् ।