धरान : पछिल्लो समय धरानमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै गएको धरान उपमहानगरको स्वास्थ्य महाशाखाले जनएको छ ।

स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार वैशाख यता दोस्रो लहरको कोरोनाबाट १४ सय ४२ सङ्क्रमित हुँदा ८ सय ५२ ले कोरोना जितिसकेका छन् भने सक्रिय सङ्क्रमित ५ सय ९० रहेका छन् । मृत्यु हुनेको सङ्ख्या २६ रहेको छ ।

धरानमा दैनिक ५० जना भन्दा बढीमा सङ्क्रमण भएको पाइएको र यसमा ५० जनाभन्दा बढी नै निको हुने पाइएको मेहताको भनाई छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड अस्पतालमा १५ जना सङ्क्रमित रहेका छन् भने विजयपुर कोभिड अस्पतालमा ५ जना रहेका छन् हरियाली क्वारेनटाइनमा २ जना सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य प्रमुख मेहताकाका अनुसार सङ्क्रमण भएकाहरूले आत्मबल सधैँ उच्च बनाउनुपर्दछ । कोरोना लागेको शङ्का लागेमा तुरुन्तै परीक्षण गराउनुपर्दछ । जसले गर्दा उपचार गर्न सजिलो हुन्छ । विशेष गरी कोरोना लागेको ५ दिनसम्म बिरामीको एकदमै ख्याल गर्ने गर्नु पर्दछ ।

मेहताकाका अनुसार झोलिला पदार्थ प्रशस्त मात्रामा खाने, चिसो वस्तु (फ्रिज) को केही खानेकुरा नखाने, १५/१५ मिनेटमा तातो पानी खाने, झ्याल ढोका खुला गरेर सुत्ने, घाम लागेको समयमा प्रशस्त मात्रामा घाम ताप्ने गर्नुपर्दछ तर त्यो समयमा पनि तातो पानी पिउनु पर्दछ ।

सकेसम्म बाफ लिइरहनु पर्दछ र खाना मिठो नभए पनि जबरजस्ती खानु पर्दछ । नियमित योगा एवं नाचगान गरेर रमाइलो तथा मनोरञ्जन गर्नुपर्दछ ।