धरान : नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरूले जवाफ नै दिएका थिएनन् । बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरूलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणा मात्र बाँकी रहेको छ । नेकपा एमालेबाट फुटेर अलग पार्टी गठन गर्नेबारे माधव नेपाल समूहमा छलफल चलिरहेको छ। नेपाल समूहका नेता झलनाथ खनालले आन्तरिक छलफलपछि नयाँ पार्टी घोषणा हुने बताएका छन् । एमाले एकताका लागि वार्ता टोली गठन भएर छलफल चलिरहेकै बेला माधव नेपाल र झलनाथ खनालसहित २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर शीतल निवास गएपछि पार्टी विभाजन भइसकेको थियो ।

यसबीचमा सर्वोच्च अदालतमा देउवाका पक्षमा परमादेश माग्ने रिटमा हस्ताक्षर गर्नुअघि पनि दुवै वार्ता टोलीका नेताहरूबिच आइतबार राति वार्ता भएको थियो । तर सोमबार बिहानै हस्ताक्षर सुरु भएपछि वार्ता टोली पनि स्वतः भङ्ग भएको छ । यसबिचमा भएका वार्ता प्रयासहरूको प्रगति भइरहेकै बेला आफ्नै पार्टीको सरकार ढाल्न एमालेका सांसदको हस्ताक्षर प्रयोग भएपछि एकताको औचित्य सकिएको नेताहरूले बताएका छन् ।

योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी लगायतका माधव नेपाल पक्षधर नेताहरू अझै पनि एकताको प्रयास गर्ने भन्दै हस्ताक्षर नगरी बसेका थिए । अब उनीहरूको भूमिका के हुन्छ भन्ने प्रस्ट भइसकेको छैन । माधव नेपालले भने पार्टी दर्ताका लागि एक महिनाअघि नै आफू निकट कार्यकर्ताहरूलाई लगाइसकेका थिए । जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता भएको छ ।

झलनाथ खनाल निकट कार्यकर्ताहरूले नेकपा एमाले (क्रान्तिकारी) दर्ताका लागि निवेदन दिएका छन् भने नेकपा समाजवादी पार्टी पनि दर्ताको लागि निवेदन परेको छ । आन्तरिक छलफलपछि पार्टीको नयाँ नाम तय हुने खनालले बताए । नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल नै हुनेछन् भने महासचिवमा भीम रावल वा सुरेन्द्र पाण्डेमध्ये एक हुने बताइएको छ ।

एमालेले खनाल नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य, जनप्रतिनिधित्व लगायत पार्टी आबद्ध सबै सङ्घ संस्थाको जिम्मेवारी समेत मुक्त हुने गरी कारबाही गरेको छ । अब स्पष्टीकरण सोधिएका १२ जनाले पनि चित्तबुझ्दो जवाफ नदिए निष्कासन गरिने एमालेले जनाएको छ । यो विभाजन प्रक्रियासँगै यसको असर प्रदेश सरकारहरूमा समेत पर्नेछ ।