धरान : सुनसरी जिल्लामा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ ।

गएको चैत्र १७ गते देखि सुरु भएको निषेधाज्ञासँगै अहिले आएर पूर्ण निषेधाज्ञाको यो अवधि सम्ममा सुनसरी जिल्लामा दैनिक संक्रमणदर घटेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकार महेश पोखरेलले जानकारी दिएका छन् ।

पहिलो निषेधाज्ञा जारी गर्दा २५० सङ्क्रमित जिल्लामा थिए भने पुनः निषेधाज्ञा थप गर्दा १ हजार बढी सङ्क्रमितको सङ्ख्या पुगेको थियो । तीव्र गतिमा कोरोना सङ्क्रमण हुन थालेपछि पूर्ण निषेधाज्ञा जारी गरी कोरोना संक्रमणदरलाई नियन्त्रणमा लिने प्रयास अनुसार अहिले दैनिक कोरोना संक्रमितदर घटेको छ ।

अहिले सम्म सुनसरीमा कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ३ हजार ६४ पुगेको छ भने ८५ जनाको मृत्यु भएको छ । सुनसरी जिल्लामा ३ जनाको आइसियुमा उपचार भइरहेको पनि सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

कोरोना संक्रमणदर घट्दो अवस्थामा भए पनि निषेधाज्ञा भने अझै केही दिन जारी रहन सक्ने बताइएको छ । यदि समयमै निषेधाज्ञा जारी गरेर कोरोना नियन्त्रण न्यूनीकरणका लागि प्रयास नभएको भए सुनसरीमा पनि कोरोना सङ्क्रमणको अवस्था भयावह हुन सक्ने थियो ।