इटहरी : इटहरीमा निजी क्षेत्रको पहलमा अक्सिजन सहितको ८० बेडको आइसोलेसन आजबाट सञ्चालनमा आएको छ। सीमित व्यक्तिहरू सहभागी भएर सामान्य कार्यक्रम गरी आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीको शुभकामना मन्तब्य संगै आइसोलेसन आजबाट सञ्चालनमा आएको घोषणा गरिएको हो।

इटहरी-१० मा रहेको पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट भवनमा उद्योग वाणिज्य सङ्घ इटहरीको अगुवाइमा अक्सिजन सहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलेसन सञ्चालनमा सहकार्य गरेका छन्।

निजी क्षेत्रको पहलमा सञ्चालन भएको सुविधा सम्पन्न आइसोलेसनले इटहरी नगरवासीलाई ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताए। उनले निजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंसा समेत गरे।
तीन तल्ले भवनमा सञ्चालित आइसोलेसनमा २४ घण्टा नै डाक्टर र नर्स सहितको सुविधा रहेको छ। पछिल्लो समय सुनसरी सहित आसपासका क्षेत्रमा कोरोना भाइरस सङ्क्रमण तीव्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनका निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इटहरीका अध्यक्ष मुकेश अग्रवालले बताए।

स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला सञ्चालन भएको सुविधा सम्पन्न यो आइसोलेसनमा सङ्क्रमितलाई खाना र बस्न निःशुल्क रहेको प्रेस युनियनका अध्यक्ष पवन अधिकारीले बताए ।

यसका साथै विभिन्न खेलकुदका सामाग्री, विभिन्न पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभिजनको सुविधा समेत रहेको उनले जानकारी दिए । आइसोलेसनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पताल सँगको सहकार्यमा ७ सय ५० रुपैयाँमा कोरोना जाँच गर्ने सुविधा पनि रहेको अधिकारीले बताए ।

itahari-private-isolation

इटहरी उपमहानगरपालिकाले पनि इटहरी रङ्गशालामा ५० शय्याको आइसोलेसन तयार गरेको छ । गत वर्ष एक सय शय्या क्षमता सञ्चालित यो आइसोलेसन यस वर्ष ५० शैयामा सीमित गरिएको छ । यस्तो बेला निजी क्षेत्रबाट सञ्चालित आइशालेशनले राहत दिने विश्वास गरिएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले बताए ।

महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृत्ति रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्ततिर पनि अनुसरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाइ छ ।

कोरोना भाइरस सङ्क्रमणको पहिलो लहर फैलिदा आइसोलेसन तथा क्वारेनटिन बनाउन स्थानीय तहहरूमा लहड नै थियो । दोस्रो लहर तीव्र रूपमा फैलिदा प्रदेश र स्थानीयको सक्रियता नदेखिएको भन्दै आलोचना भइरहेको छ ।

स्थानीय र प्रदेश सरकारकै प्रभावकारी भूमिका नरहेका बेला इटहरीमा भने निजी क्षेत्रको नेतृत्वमा आइसोलेसन सञ्चालनमा आउनु सुखद रहेको बताइएको छ ।