धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिग्रिएको अक्सिजन प्लान्ट आजदेखि पुर्णरुपमा सञ्चालनमा आएको छ ।

सञ्चालनमा रहेको अक्सिजन प्लान्ट बिग्रिए पछि बिहीबारदेखि निरन्तर मर्मत भएको र मर्मत कार्य पुरा भई पूर्ण क्षमतामा सञ्चालन भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर शाहले आज एक सूचना जारी गरी जानकारी दिएका छन ।

बिग्रिएको अक्सिजन प्लान्टको हिजोदेखि केही आधा क्षमतामा सञ्चालनमा आएको थियो । आज मर्मत कार्य पुरा भएर पुर्णक्षमतामा सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको प्लान्टबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुने गर्छ।

अक्सिजन अभावले कोभिडका बिरामीहरूलाई समस्या भएको भन्दै प्रतिष्ठानका पदाधिकारीहरूको चर्को आलोचना हुँदै आएको थियो ।

महामारीको यस अप्ठ्यारो परिस्थितिमा प्राविधिक कठिनाइका कारण सर्वसाधारणमा पर्न गएको असुविधा प्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ ।

प्रतिष्ठान सदैव बिरामी उपचार सेवाका लागि कटिबद्ध भएको हुनाले सम्बन्धित सबैको साथ र सकारात्मक सहयोग रहेको खण्डमा जस्तो सुकै परिस्थितिका बाबजुद पनि उच्चस्तरीय उपचार सेवाका लागि व्यवस्थापन गर्न प्रतिष्ठान तयार रहेको समेत सबैमा विश्वास दिलाउन चाहन्छौ सूचनामा उल्लेख गरिएको छ ।

BP-Suchana