इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ३ सुनौलो बस्तीमा वितरण भएको राहत सामग्रीमा एमालेको पत्र फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा उपमहानगरपालिकाले वितरण गरेको राहतमा एमाले नगर अध्यक्ष यामकुमार सुब्बाको हस्ताक्षर सहितको पत्र भेटिएको हो ।

चामलको बोरा भित्र खाममा खाद्यान्न अभाव नहोस् भन्नको लागी पहिलो चरणको राहत पठाएको उल्लेख गरिएको छ । सङ्घीय सरकारले तत्काल कुनै पनि राहत वितरण नगर्न नगराउन आदेश दिएपछि अघिल्लो लकडाउनमा जसरी राहत वितरण हुन पाएको थिएन । केही दिन अगाडी डिसिसिएमसी सुनसरीले पालिकाको एकद्वार प्रणालीबाट राहत वितरण गर्न सकिने बताएको थियो ।

सोही बमोजिम नेकपा एमालेले इटहरी उपमहानगरपालिका मार्फत राहत बाढेको हो । उपमेयर लक्ष्मी गौतम र ३ नम्बर वडाका वडाध्यक्ष बालकृष्ण विष्ट सहितको टोली मंगलबार बिहान कोरोना सङ्क्रमित सुनौलो बस्तीमा पुगेको हो । केही दिन अगाडी मात्र सो बस्ती सिल गरिएको थियो ।

राहत वितरणको क्रममा एमालेको पत्र भेटिएपछि वडाध्यक्ष विष्टले विरोध जनाएका थिए । तत्काल वितरण रोकेर सबै बोरामा हेर्दा खाममा एमालेको पत्र भेटिएको उनले सुनाए । १५ मिनेटको विवाद पछि पत्र झिकेर राहत मात्र बाडीएको उनको भनाई छ ।

उता उपमेयर गौतमले भने एक साता देखी एमालेले तयार पारेको राहत सिडिओ साबको निर्देशनमा आफूहरूले बाढेको बताइन् । पत्र बारे आफूलाई कुनै पनि जानकारी नभएको उनले प्रस्ट पारिन् । राहत वितरणमा नगर प्रहरी सहित उनी आफै टोलमा पुगेकी थिइन् ।

मेयर द्वारीकलाल चौधरीले भने आफूलाई उपमेयरले फोन गरेर एमालेको राहत छ के गरौँ भनेर सोधेको र सिडिओको सल्लाह अनुसार गर्नु भनेको बताए । पछि एमालेको पत्र भेटिएको भन्ने कुरा वडाध्यक्षले भनेपछि मात्र थाहा पाएको उनको भनाई छ ।

यस विषयमा बुझ्न नगर अध्यक्ष सुब्बालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । उता नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेलले भने तीव्र विरोध जनाएका छन् । सोमबार भएको सर्वपक्षीय भेलामा एकताको निर्णय भएको तर एमालेले मानवता बिरोधी हर्कत गरेको आरोप लगाएका छन् ।

अस्पतालको स्तर वृद्धि र पिसिआरको सङ्ख्या वृद्धिमा ध्यान नदिएर उपमेयर आफै एमालेको प्रचारमा राहत बाड्न लागेको भन्दै आक्रोश व्यक्त गरे । उपमेयर प्रति लक्षित गर्दै उनले भने, “सबैभन्दा ठुलो कुरा शिक्षा र चेतना हो त्यहीँ नहुँदा मुख दुखेको छ।”

इटहरीमा मात्र हैन वन मन्त्री प्रेम बहादुर आलेले अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका छन् । प्रेम बहादुर आलेको व्यक्तिगत सहयोग भनेर उनको फोटो सहितको अक्सिजन वितरण गरेका हुन् । विपत्तिमा पनि प्रचार खोज्ने भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ ।

rahat-ma-rajanati
इटहरी उपमहानगरपालिले वडा नम्बर ३ सुनौलो बस्तीमा वितरण गरेको राहत सामग्री र राहत सामग्रीको बोरामा भेटिएको एमालेको पत्र