विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान् सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, याक्वा तङ्नाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गरेका छन् ।

शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरूको महत्त्व आजको विश्व परिवेशमा झनै बढेको छ, मुख्यमन्त्री राईले भनेका छन्–बुद्धको उपदेशलाई आत्मसात् गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।

त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबिच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको भनाई छ ।

साथै, यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबिचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग समेत गरेको उहाँले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

बढ्दो रूपमा फैलिएको कोरोना भाइरस का कारण यी चाडपर्व खुला र भव्य रूपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन अपिल समेत गरेका छन् ।