धरान : धरान उपमहानगरपालिकाले धरानको सर्दु, सेउती र सेरा खोलामा नदीजन्य सामाग्री उत्खननका लागि ठेक्कामा दिएपछि अहिले विवाद सुरु भएको छ ।

धरान उपमहानगरपालिकाले स्थानीय सरकारको हिसाबले आफ्नो क्षेत्र भित्र आईई गरेर ठेक्का लगाउन पाउने भन्दै आएको छ भने बन कार्यालयले भने बन क्षेत्रमा ठेक्का लगाउन नपाउने भन्दै आएको छ ।

धरान उपमहानगरपालिकाले धरानका तीन वटा खोलाका लागि ४ करोड ९१ लाखमा ठेक्का लगाएको हो । जसमा सर्दु खोलाको धरान चतरा जाने पुलको पुलको मापदण्ड राखेर उत्तर तर्फ ३२,०३३ घन मिटर र पुल देखि दक्षिणमा ३४,९७० घन मिटर नदीजन्य पदार्थ ठेकेदारले निकाल्न पाउने गरी सम्झौता भएको छ ।

यसै गरी सेहराको पानमारा जाने पुल देखि दक्षिण ८०,७८३ घन मिटर र सेउती खोलाको पानमारा जाने पुल देखि कोशी राजमार्गको पुल बिचको क्षेत्रमा ४८,२६५ घन मिटर र कोशी राजमार्गको दक्षिण क्षेत्रमा १६,२५० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउने गरी उपमहानगरपालिकाले ठेक्का लगाएको धरान उपमहानगरपालिकाका वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले बताए । नगरपालिकाले पाथीभरा निमार्ण सेवा कम्पनी इटहरी र विनीता श्री कन्स्ट्रक्सन एन्ड सप्लायर्स इटहरीलाई ठेक्का लगाएको छ ।

Khola-utkhanan-1

पाथीभरा निमार्ण सेवा कम्पनीका प्रमुख गोविन्द भण्डारीले जेठ महिना सम्ममा उत्खनन गरी सक्नु पर्ने बताए ।
नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाउँदा अनिवार्य आईई गर्नुपर्ने हुन्छ ।

प्रारम्भिक वातावरणीय अध्ययन नगरी ठेक्का लगाइँदैन । यसका लागि आइई धरानको होम प्यानका संचालक टंक केसी र काठमाण्डौको ग्रे हिमालयनले संयुक्त रूपमा तयार गरेका हुन् ।

तर पछिल्लो समय धरानको खोलाहरूमा लागेको ठेक्काको डिभिजन वन कार्यालयले भने आपत्ति जनाउँदै आएको छ । यो सँगै धरान ६ को वडा कार्यालयबाट पनि उपमहानगरपालिकामा निवेदन परेको बताइएको छ ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले स्थानीय सरकार ऐन २०७४ (६) को क मा अनुसार नदीजन्य काम गरेको बताएको छ । डिभिजन वन कार्यालय सुनसरीले बन ऐन २०७६ को दफा ४९ को झ मा बन क्षेत्रबाट बग्ने नदीबाट ढुङ्गा, गिट्टी बालुवा, वा माटो झिक्ने , गोल वा चुना पोल्ने वा यी बस्तुबाट अरू तयारी माल बनाउने वा सङ्कलन गर्ने र खनिज निकाल्ने वा सङ्कलन गर्न कार्य गर्नू हुँदैन र सो गरेका कसुर मानिने जनाएको छ ।

करिब १० दिन अघि देखि ठेक्का सम्झौता भएर उत्खनन सुरु भएको खोलाको ठेक्कामा डिभिजन बन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले सेउती राष्ट्रिय बन क्षेत्रमा अन्तर्गत पर्ने भएकाले यसमा स्थानीय सरकारले केही गर्न नपाउने दाबी गर्छन् ।

धरानका मेयर उपमेयरले नगर प्रहरी लगाएर वनका कर्मचारीलाई लाठ्ठी चार्ज गर्न लगाएको उपमेयरले मुख छाडेर बोलेको प्रमुख श्रेष्ठले बताए ।

कागजात नपुगेको भन्दै हतियारसहितका वन रक्षक डिभिजन कार्यालय सुनसरीले उत्खनन स्थलमा पठाएको थियो । यता धरान उपमहानगरपालिकाले खोला उत्खनन गर्न पाउनु पर्ने भन्दै ३५ जना नगर प्रहरी उत्खनन स्थलमा उपमहानगरले पठाएको थियो ।

शुक्रवार धरान उपमहानगर र डिभिजन वन कार्यालयका कर्मचारीबिच हतियार खोसाखोस समेत भएको पानवारी सामुदायिक वनका पदाधिकारीले जानकारी दिएका छन् । यसरी नगर प्रहरी ठेकदारको सुरक्षामा खटाएर वन क्षेत्रमा नगरपालिकाले शक्ति प्रदर्शन गरेको भन्दै सशस्त्र वन रक्षकले आपत्ति समेत जनाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ प्रवक्ता वसन्त अधिकारीले मानव बस्तीसंग र खोला सँग सम्बन्धित रहेको बालुवा गिट्टी र ढुङ्गा खन्दा वन क्षेत्र सँग अनिवार्य समन्वयन हुनै पर्ने र नभएको खण्डमा कुरा नमिलेमा छलफल प्रक्रिया अगाडी बढाउनु पर्ने माथिल्लो निकायमा स्थानीय सरकार प्रमुखले पत्र काट्नु पर्ने बताए ।

Khola-utkhanan-2