धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बुद्ध जयन्ती तथा प्रकृति पूजक किराँत समुदायको महान् चाड उभौली (साकेला, याक्वा तङ्नाम, साकेन्वा, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मेयर राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘धरान उपमहानगरपालिका विभिन्न जात, जाति, भाषा भाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी हो ।

धरानमा बसोबास गर्ने बहुल जाति, बहुल भाषी, बहुल धर्मावलम्वीहरुको आ–आफ्नो संस्कार संस्कृति र मौलिक पर्वहरू छन् ।

यही सन्दर्भमा बुद्ध जयन्ती तथा प्रकृति पूजक किराँत समुदायको महान् चाड उभौली (साकेला, याक्वा तङ्नाम, साकेन्वा, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण धरानवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरू आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रूपमा रहेका छन् । ‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायमा पनि महत्त्वपूर्ण मानिन्छ ।

यी दुवै पर्वले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु । साथै प्रकृति पूजक किरात समुदायमा घरमै बसेर स्वास्थ्य प्रोटोकल अपनाउँदै आफ्नो पितृ पूजा गर्न पनि हार्दिक अपिल गर्दछु’ राईद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

मेयर राईले देशभर कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको उल्लेख गर्दै धरानमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो रहेको बताएका छन् । यस महामारीबाट बच्नका लागि हालसम्म नगरवासीले संयमयता अपनाई दिएकोमा धन्यवाद पनि ज्ञापन गरेका छन् ।

उनले कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउँदै लकडाउनको पालना गर्न पनि आम नगरवासीलाई शुभकामना सन्देश मार्फत अनुरोध गरेका छन् ।

Ubhauli-subhakamana-Sandesh