धरान : धरानका पत्रकार रत्न आचार्यलाई अपमानजनक शब्द प्रयोग गरी लगाइएको लाञ्छनाप्रति पत्रकार महासङ्घ सुनसरीले खेद व्यक्त गरेको छ।

पत्रकारलाई कारबाहीको धम्की दिनु र सामाजिक बहिस्कार गर्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति जनाएको हो ।

आचार्यले 'सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता' शीर्षकमा अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए । सो समाचारमा नेपाली काँग्रेस सुनसरीका एक नेतालाई जलाधार क्षेत्रलाई निजीकरण गर्न मिलेमतो गरेको आरोप छ ।

सोही समाचारको विषयलाई लिएर आचार्यलाई नेपाली काङ्ग्रेसका विभिन्न भातृ सङ्गठन र धरान फुटबल क्लबले जारी गरेको प्रेस विज्ञप्तिमा जारी गरे। आर्थिक प्रलोभनमा परेर पत्रकारिताको धज्जी उडाउने काम भएको भन्दै उनीहरूले आरोप लगाएका थिए ।

यस्तो समाचार लेख्ने पत्रकारलाई नाङ्गेझार बनाउने चेतावनी दिएका थिए । सोही अभिव्यक्तिप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सचिव ध्रुव ढकालद्वारा जारी विज्ञप्तिमा पत्रकार आचार्यलाई दिएको सो अभिव्यक्तिप्रति महासङ्घले भर्त्सना गरेको छ ।

त्यसका साथै धम्की दिनेहरू लाई कानुनी दायरमा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा व्यवहारिक रूपमा प्रतिबद्ध बन्न र नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न सम्बन्धित सवैमा महासङ्घले अपिल गरेको छ ।

समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसको कानुनी बाटो हुँदाहुँदै अन्य बाटो खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफ्नो नेतालाई गलत आरोप लगाएको भन्दै नेपाल दलित सङ्घ धरान उपमहानगर कमिटी, नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सुनसरी, नेपाल विद्यार्थी सङ्घ क्षेत्र नं. १ सुनसरी, नेपाल विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस धरान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, नेपाल विद्यार्थी सङ्घ पिण्डेश्वर र नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल इन्जिनियरिङ कलेज र धरान फुटबल क्लबले समान भाषाको विज्ञप्ति निकालेका थिए ।

patrakar-mahasang-123