धरान : कोरोना सङ्क्रमणको दोस्रो लहरबाट धरानमा ४४ दिनमा १५७० जनामा कोरोना सङ्क्रमण भएको छ भने यही अवधिमा २८ जनाको मृत्यु भएको छ ।

धरानमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञालाई कडाइका साथ लागु गराउँदा गराउँदै पनि अहिले सम्म यत्तिको सङ्ख्यामा कोरोना सङ्क्रमित पुगेका हुन् ।

पहिलो लहरको कोरोना सङ्क्रमणमा धरानमा धरानमा करिब ९ महिनाको अवधिमा ३ हजार ६ सय १४ जनामा कोरोना सङ्क्रमण भएको थियो भने ७६ जनाको मृत्यु भएको थियो ।

सुनसरी जिल्ला भरीको तथ्याङ्कलाई हेर्ने हो भने सबै भन्दा धेरै कोरोना सङ्क्रमित पालिकामा धरान परेको थियो । यस पटकको दोस्रो लहरको कोरोना सङ्क्रमणमा पनि सबै भन्दा धेरै कोरोना सङ्क्रमित र मृत्यु हुने पालिकामा धरान उपमहानगरपालिकाकै परेको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार ज्येष्ठ १० गते २९, ११ गते ३४ जना र हिजो १२ गते बुधवार ८५ जना थप कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै धरानमा मात्रै ४४ दिनमा १ हजार ५ सय ७० जना सङ्क्रमित पुगेका हुन् । सङ्क्रमित मध्ये ५ सय ७० जना सक्रिय सङ्क्रमित धरानमा रहेका छन् भने केही सङ्क्रमित धरानको विभिन्न आइसोलेसनहरू विजयपुर हस्पिटल, हरियाली सामुदायिक बनको आइसोलेसन र बीपीको कोभिड अस्पतालमा रहेका छन् ।

सुनसरी जिल्लाको सङ्क्रमण दर घटेको भनिइरहँदा धरानमा भने सङ्क्रमितको सङ्ख्या धेरै देखिनु धेरै जनाको परीक्षण गर्नुले परिणाम पनि सोही अनुसार आएको महाशाखा प्रमुख महेताको दाबी छ ।

तर धरानमा निषेधाज्ञाको पूर्ण पालना नहुनु र सर्वसाधारणको लापर्वही बढ्नुले समुदाय स्तरमा कोरोना संक्रमणदर उच्च रहेको स्वास्थ्य विज्ञहरूको दाबी छ । यसबारेमा धरान उपमहानगरपालिकाले अलि बढी संवेदनशीलता अपनाउनुपर्ने देखिन्छ ।