धरान : धरान उपमहानगरपालिकामा रहेका कोरोना सङ्क्रमितहरूलाई अव देखि स्वास्थ्य परामर्शसँगै घर घरमा पुगेर उनीहरूलाई चाहिने अत्यावश्यक औषधीहरू पुर्‍याइने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अहिले सम्म धरानमा रहेका ५ सय ७० जना सक्रिय सङ्क्रमितहरूलाई यो सेवा घर घरमै पुगेर दिने महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसका लागि अहिले धमाधम औषधीहरू जिउ, टाउको दुख्ने र ज्वरोको औषधी, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीहरू, भिटामिन सी, जिङ्क चक्की, हेण्ड स्यानिटाइजर, मास्क लगायतका सामाग्री प्याकिङ भइरहेको छ ।

भोलि शुक्रवार देखि २४ सै घण्टा यसका लागि धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य संस्थाका २७ जना स्वास्थ्यकर्मीहरूलाई परिचालन गरिँदै छ । 

होम आइसोलेसनमा बसेका बिरामीहरूलाई स्थानीय निकायले वास्ता नगरेको जनगुनासो आइरहेको बेलामा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले यस्तो अभियान सुरु गरेको हो ।

स्वास्थ्य टोलीले घर घरमै पुगेर सङ्क्रमितहरूलाई स्वास्थ्य परामर्श दिनुले सङ्क्रमितहरूको मनोबल बढ्ने र औषधी पनि पाउने भएका हुन् ।