धरान : ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

उनको उपचारको क्रममा विराटनगरको विराट मेडिकल कलेजमा आज बिहान साढे ८ बजे निधन भएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनले आफ्नो फेसबुकमा लेखेकी छिन् -'नचाहेर पनि सत्य यही हो, इटहरीलाई अपुरणनिय क्षति,चन्द्र न्यौपाने प्रति हार्दिक श्रद्धाञ्जली ।'

न्यौपानेलाई कोरोना सङ्क्रमण भई १८ दिन देखि उपचाररत थिए। केही दिन आइसियुमा र त्यस पछि स्वास्थ्यमा सामान्य सुधार आएपछि एचडियुमा राखिएको थियो। फेरि स्वास्थ्यमा समस्या देखिए पछि केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

इटहरी निवासी न्यौपाने कर्मसियल रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष तथा नेपाल विज्ञापन बोर्डको सदस्य र सप्तकोसी मिडिया प्रा.ली.द्वारा सञ्चालित सप्तकोसी एफएमका स्टेसन म्यानेजर पनि हुन्।