धरान : धरानमा थोक बिक्रेताहरूसँग खाद्यान्नको आपूर्ति, वितरण र हाल बजार भाउ वृद्धिको विषयमा छलफल भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घले खाद्यान्नको दरभाउ र आपूर्ति सम्बन्धमा थोक बिक्रेताहरूसँग छलफल कार्यक्रमको आयोजना गरेको हो । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा थोक बिक्रेताहरूसँग खाद्यान्नको आपूर्ति, वितरण र हाल बजार भाउ वृद्धिको व्यापक जनगुनासो आइरहेकोले त्यस सम्बन्धमा छलफल गरिएको थियो ।

सङ्घका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपूर्ति समितिका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरूलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका थिए । श्रेष्ठले यदि बिक्री गरिने वस्तुहरूमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा बिक्री गर्न आग्रह गरेका थिए ।

धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेद सापकोटाले हाल बोइलर कुखुराको मासु तथा सागसब्जीको मूल्य वृद्धि भइरहेको तथा विशेष गरी बेकरीको आइटममा उत्पादन मिति उल्लेख नगरेको बताए। त्यसैगरि इलाका प्रशासन कार्यालयका प्रमुख सुवासकुमार लामिछानेले गुणस्तर र परिमाण अनुसार दरभाउ कायम हुनुपर्ने र यदि मूल्यवृद्धि भएको प्रमाणित भएमा आवश्यक कारबाही गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले सहयोग गर्नुपर्ने बताए ।

सङ्घका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले “अनुगमन गरेर व्यापारीहरूलाई आतङ्कित बनाउने उपमहानगरपालिकाको चाहना होइन, तर मूल्य र उत्पादन मिति सम्बन्धमा व्यापारीहरुपनि इमानदार हुनुपर्ने” बताएकी थिइन ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले विशेष गरी हाल तेलको मूल्यवृद्धि सम्बन्धमा व्यापक गुनासो आइरहेको र तेलको मूल्य वृद्धि स्थानीय व्यापारीहरूबाट नभई अन्तर्राष्ट्रिय क्षेत्रबाटै भएको बताए । सनफ्लावर तेल युक्रेन, रसिया र अर्जेन्टिनाबाट आयात हुँदै आएकोमा हाल ती देशहरूमा करिब ६० प्रतिशत उत्पादनमा कमी भई पर्याप्त मात्रामा आयात हुन नसकेकोले मूल्यवृद्धि भएको बताए ।

त्यसै गरी रिफाईन तेलको कच्चा पदार्थ ब्राजिल र साउथ अमेरिकाबाट आयात हुँदै आएकोमा उत्पादनमा कमी हुँदाहुँदै पनि करिब ७३ प्रतिशत कच्चा पदार्थ चाईनाले खरिद गरेपछि अन्य बजारमा अभाव भई मूल्यवृद्धि भएको बताए ।

सापकोटाले यदि नियतवश कुनै पनि व्यापारीले अनैतिक रूपमा मूल्य वृद्धि गरेको थाहा पाए आवश्यक कारबाही गर्न सहयोग गर्ने समेत बताए । सापकोटाले हाल बजारमा थोक बिक्रेताले चिनी खरिद गर्दा उद्योगमै ८५ रुपैयाँ पर्ने र ढुवानी, लोड अनलोड खर्च र भ्याट रकम समेत गर्दा समेत त्यसको मूल्य पहिलाको भन्दा बढी भएको बताए ।

कार्यक्रममा वाणिज्य सचिव सिताराम आचार्यले यदि ग्राहकलाई खाद्यान्न, विशेष गरी चामल, दाल, नुन, चिनी लगायतका सामाग्री होम डेलिभरी गर्नुपर्ने भए सुनसरी उद्योग वाणिज्य सङ्घले आवश्यक व्यवस्था गर्ने तयारी भइसकेको समेत बताएका थिए ।