इटहरी : मन्त्रीका मान्छेलाई मात्र छानिछानी खोप दिएको भन्दै विराटनगरमा स्थानीयले विरोध जनाएका छन् । प्रदेश १ सामाजिक विकाश मन्त्री उषाकला राईले आफ्ना कार्यकर्ता र नजिकका उद्योगीलाई मात्र खोप लगाउन निर्देशन दिएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

प्रदेश १ सरकारले विराटनगरका उद्योगीको माग अनुसार खोप उपलब्ध गराएको स्थानीयको आरोप छ । सुरुमा मुख्यमन्त्रीको कार्यालयमा तय भएको खोप लगाउने कार्यक्रम पछि सिटी सिनेमा हलमा सारिएको थियो। सुटुक्क कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको चालपाएपछी स्थानीय पनि सोही स्थानमा पुगेका थिए ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको दोस्रो डोजको कोभिसिल्ड खोप शुक्रवार लगाइने कार्यक्रम तय भएको थियो । पहुँचवालालाई खोप दिएको सूचना पाएपछि सर्वसाधारणले आफूहरूलाई समेत खोप उपलब्ध हुनुपर्ने माग गर्दै सिटी सिनेमामा घेराउ गरेका थिए ।

मारवाडी उद्योगी गर एमाले कार्यकर्तालाई मात्रै खोप दिएको बुझिएको स्थानीय ताजिम अन्सारीले बताए । जनतालाई बेवास्ता गरेर खाली कार्यकर्ताको मात्र संरक्षण भएको उनको भनाई छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी असुरक्षित भएको बेला पहुँचवालालाई मात्र खोप लगाएकाले विरोध जनाएको उनले प्रस्ट पारे ।

सर्वसाधारणले सिटी सिनेमा हल तीन पैनी क्षेत्रमा विरोध जनाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले अनावश्यक भिडभाड भएको जानकारी पाएपछि भिड नियन्त्रण गर्न आफूहरू पुगेको बताए । सर्वसाधारणको लागी खोप खुल्ला नगरिएको पत्ता पाएपछि स्थानीयलाई सम्झाएर पठाएको उनको भनाई छ।

जनतालाई घरभित्र थुनेर सरकारले पहुँचवाललाई मात्र संरक्षण गर्न लागिपरेको नेपाली काँग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले बताए । सरकार पक्षीय व्यक्तिहरूलाई मात्रै खोप लगाउने राज्यले लिएको नीति अन्यायपूर्ण रहेको उनको भनाई छ ।

स्थानीय तथा प्रदेश सरकारले जनताको सेवामा आफूलाई बढी क्रियाशील बनाउनुपर्ने उनको बुझाई छ । महामारीमा पनि विभेद भयो भने व्यवस्थाप्रति नै वितृष्णा बढ्ने उनको चिन्ता छ ।