विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान समेत व्यक्त गरेका छन्। साथै सम्पूर्ण घाइते तथा अपाङ्ग योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सदभाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त समेत गरेका छन् ।

सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौँ, आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ ।

गत वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण गणतन्त्र दिवस खुला र भव्य रूपमा आयोजना गरी मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपिल समेत गरेका छन् ।

यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन सहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्रीद्धारा जारी सन्देशमा भनिएको छ ।