धरान : निषेधाज्ञाका बेला धरानका बैङ्क वित्तीय संस्थाहरूले हप्तामा ३ दिन दैनिक दिउँसो २ बजे सम्म सेवाग्राहीलाई सेवा प्रदान गर्न स्थानीय सरकार धरान उपमहानगरपालिकाले शनिवार सूचना जारी गरेको छ।

सुनसरी जिल्ला प्रशासनले शुक्रवार निषेधाज्ञाको नयाँ आदेश जारी गर्दै जेठ २२ गते सम्म लकडाउन अवधि थप गरेको अवधिमा नयाँ व्यवस्था गरिएको हो। जिल्ला प्रशासनको निषेधाज्ञा आदेशमा सरकारी कार्यालय, बैङ्क-वित्तीय संस्थाको अत्यावश्यक सेवा स्थानीय तह नगरपालिका, उद्योग वाणिज्य सङ्घ सँग सल्लाह गरी सञ्चालनको व्यवस्था मिलाउने कुरा उल्लेख छ ।

उपमहानगरपालिका कार्यालय द्वारा जारी सूचनामा भनिएको छ ‘जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको परिपालन गरी नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण प्रोटोकलहरू पुरा गर्दै धरानमा रहेका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूले कम्तीमा हप्ताको ३ (तिन) दिन दिनको २ बजे सम्म सेवाग्राहीलाई प्रत्यक्ष सेवा सेवा प्रवाह गर्ने व्यवस्था गर्न सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

अघिल्लो साता कोरोनाको जोखिम बढेको भन्दै उपमहानगरपालिकाले धरानमा बैङ्क, वित्तीय संस्थाहरूको सेवा बन्द गराएको थियो। कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि जारी अघिल्लो निषेधाज्ञा शनिवार सकिनु अघि जिल्ला प्रशासनले जेठ २२ गते शनिवार राती १२ बजेसम्मको लागि अवधि थप गरेको छ ।

dharan-bank