धरान : गएराति पानी परिरहेको मौका छोपेर हरिनगर क्षेत्रका पसल तथा मन्दिरमा चोरी भएको छ।

प्रहरीले चोरी गरेको आरोपमा हरिनगर गाउँपालिका-४ का १९ वर्षीय जुम्ला अन्सार र २५ वर्षीय हसरुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

भुटाहा जेनेरल स्टोर किराना पसल लगायत बजार क्षेत्रमा रहेको पाँच वटा पसल सहित शिव मन्दिर, हनुमान मन्दिरबाट लाखौँको धनमाल चोरी भएको भुटाहा प्रहरी चौकीले जनाएको छ ।

सिसी टिभी फुटेजको आधारमा रातको समयमा पसल तथा मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको भुटाहा प्रहरी चौकीका प्रमुख बलराम यादवले जानकारी दिए ।

उनका अनुसार पाँच किराना पसलबाट झन्डै एक लाख नगद सहित मोबाइल र रिचार्ज कार्ड चोरी भएको खुल्न आएको छ। दुई दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरीका घटना बढेपछि र फरारहरूलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै हरिनगरका व्यवसायीहरूले सुरक्षा माग गर्दै प्रहरी चौकी कार्यालय भुटाहा पुगेका थिए । गए राति एकै पटक पाँच पसलमा चोरी भएपछि व्यवसायी त्रसित समेत बनेका छन् ।

हरिनगरका व्यवसायीहरूले भुटाहा, हरिनगरा, गौतमपुर, घुस्की जस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न र सिसिटिभी क्यामेरा जडान गर्न माग गरेका गरेका छन् ।

प्रहरीले गएराति भएको चोरी कार्य सामूहिक रूपमा भएको जनाउँदै अन्य फरारहरूको खोजी कार्य भइरहेको जनाएको छ ।