धरान : युवा व्यवसायी सन्तोष विकले शारीरिक अपाङ्ग भएका बसन्ती भुजेललाई सहयोग स्वरूप एक थान ह्विल चेयर प्रदान गरेका छन् । धरान-११ को पृथ्वी चौक बस्ने बसन्ती भुजेललाई उनकै परिवारको उपस्थितिमा व्यवसायी विकले ह्विल चेयर दिएका हुन।

करिब दस वर्षअगाडिदेखि शारीरिक अपाङ्ग जीवन बिताइरहेकी बसन्ती भुजेललाई ह्विल चेयर दिएपछि परिवार खुसी भएका छन् । व्यवसायी सन्तोष विकले बसन्ती भुजेललाई ह्विल चेयर दिएर सहयोग गर्न पाएकोमा खुसी लागेको बताए। 

उनले भने-‘बसन्ती भुजेललाई मैले मानवीय हिसाबले सहयोग गरेको हुँ ।’ बसन्तीका श्रीमान् गरराज भुजेलले ह्विल चेयर पाएर खुसी भएको बताए । खुसीको आँसु झार्दै भने-‘दस वर्षदेखि कोठामै लडिराखेको मेरी श्रीमतीलाई अब बाहिर डुलाउँछु।’ 

दस वर्षअघि सुनसरीको कालाबन्जार भन्ने ठाउँमा बसोबास गरेको बेला श्रीमतीले एक्कासि देब्रे हात झट्कार्न थालेर बिमारी भएपछि अहिले श्रीमती अपाङ्ग भएको बताए । त्यस बेलाको घटना सम्झँदै गरराज भुजेलले भने -‘बिपी अस्पतालले डेढ लाख चाहिन्छ भन्यो म सङ्ग दस हजार मात्र थियो । त्यतिकै घर फर्काएँ, अहिले यस्तो भयो।’ 

धरान-११ को सुकुम्वासी बस्ती रहेको पृथ्वी चोकमा भाडामा बस्दै आएका उनीहरूले ह्विल चेयर पाउनु ठुलो राहत भएको स्थानीयवासीले बताए ।