धरान : धरान उपमहानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाहरूको दाहसंस्कार गर्न दैनिक पाँच हजार रुपैयाँ खर्च गर्दै आएको छ।

उपमहानगरले पवित्र निर्माण सेवा धरानसँग दैनिक ५ हजारले सम्झौता गरेको विपद् तथा वातावरण महाशाखाका प्रमुख भेषराज घिमिरेले जानकारी दिए। सम्झौता गरे अनुसार कम्पनीले एक दिनमा एउटा शव व्यवस्थापन गरे पनि सो भन्दा बढी गरेमा पनि पाँच हजार लिने सर्तमा सम्झौता भएको हो।

धरानमा पहिलो चरणको सङ्क्रमणबाट ७७ जनाको मृत्यु र दोस्रो चरणको सङ्क्रमणबाट ३४ जनाको मृत्यु भएको छ। अहिले सम्म उपमहानगरपालिकाले १ सय ११ जनाको दाहसंस्कार गरीसकेको छ।

उपमहानगरले सङ्क्रमणको पहिलो लहरमा शव व्यवस्थापन गरे बापत ३ लाख ८० हजार बढी रकम पवित्र निर्माण सेवा धरानलाई भुक्तानी गरेको थियो। दाहसंस्कार स्थल धरान-१९ स्थित हरियालीमा रहेको चारकोशे झाडी र धरान-१५ पानवारी जाने पुलको दक्षिणमा मुक्ति घाटमा गरिँदै आएको छ।

जहाँ परम्परा अनुसार धेरै शवहरू गाडिएका छन्। गाडिएका शवहरू जीपीएस मार्किङ विधिबाट व्यवस्थापन गरिएको छ। जमिनमा प्रत्येक शवहरू छुट्टाछुट्टै गाडिएको छ भने पिलरको नम्बर मेटिए वा पिलर हराए पनि जीपीएस मार्किङ विधिबाट मेसिनले पोजिसनमा देखाउने धरानका नगर प्रहरी प्रमुख इन्स्पेक्टर विष्णु कोइराला बताउँछन् ।

सङ्क्रमितको शव व्यवस्थापनमा खटिएका नेपाल आर्मी, धरान उपमहानगरका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नगर प्रहरी प्रमुख विष्णु कोइराला, जेसिभिका प्रोप्राइटर पवन अग्रवाल, शवबाहन चालक भक्तबहादुर रोक्का, जेसिभीका अपरेटर लगायतका टिम लागिपरेका छन् ।

नगर प्रहरीको टोली, नेपाली सेनाको टोली र नेपाल स्काउटले पनि सहयोग गर्ने गरेको छ। दाहसंस्कार स्थलमा अन्य समय प्रवेश निषेध गरिएको छ।