धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको पालना नगरी उल्लङ्घन गर्नेहरूलाई कोभिड सङ्कट व्यवस्थापन अध्यादेश २०७८ मा भएको व्यवस्था अनुसार कारबाही हुने धरान प्रहरीले जनाएको छ।

दोस्रो लहरको कोरोना संक्रमणदर निषेधाज्ञाका बाबजुद पनि वृद्धि भइरहेकोले गए राति मध्यरातबाट लागु हुने गरी ज्येष्ठ २२ गते सम्म सुनसरीमा फेरि पनि निषेधाज्ञा थप गरिएको हो।

निषेधाज्ञामा सर्वसाधारणको अटेरीपनले कोरोना संक्रमणदर बढेकोले अव देखि धरानको हकमा अत्यावश्यक काममा हिँड्दा पनि प्रहरीलाई जानकारी गराएर मात्रै हिडनहुन इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले आग्रह गरेका छन् ।

ओलीका अनुसार हिजो मात्रै धरानमा ९० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई पठाएको थियो। अव सम्झाई बुझाई नपठाई अध्यादेशमा उल्लेख भए अनुसारको कारबाही अघि बढाउने ओलीको भनाई छ।

अध्यादेशमा भने अनुसार निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकलको हकमा २ हजार, अरू सवारीलाई ५ हजार जरिवाना गर्ने व्यवस्था अनुसार कारबाही हुनेछ।

यसै गरी मास्क नलगाई हिँड्नेलाई पटकै पिच्छे १ सय र बिना काममा हिँड्नेलाई २ सय जरिवाना गरिने धरान प्रहरीले जनाएको छ ।