इटहरी : शुक्रवार कोरोना महामारी विरुद्धको दोस्रो डोज खोप पहुँचवालाले मात्र लगाएको भन्ने समाचार प्रति मुख्यमन्त्री कार्यालयले खेद प्रकट गरेको छ । विभिन्न सञ्चार माध्यममा मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयको संलग्नतामा ठुला व्यापारीलाई मात्र खोप लगाएको भन्ने समाचारको विषयमा खण्डन गरेको हो।

मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीद्वारा जारी विज्ञप्तिमा ज्येष्ठ १४ गते खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरूमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विभिन्न स्रोतको हवाला दिँदै मुख्यमन्त्री निवास, मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाएको भन्ने अनर्गल एवम् प्रायोजित समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाइएको छ । समाचार प्रति खेद प्रकट गर्दै भ्रमपूर्ण र प्रायोजित समाचारहरू भन्दै खण्डन गरिएको छ ।

मुख्यमन्त्री आफै पहिलो डोज खोप लगाएका सबैलाई दोस्रो डोजको खोप लगाउन थप खोपको व्यवस्था गर्न लागी परिरहेको बेला यस्ता प्रचारहरू आश्चर्यजनक र निन्दनीय रहेको स्पष्ट पारिएको छ । प्रदेश सरकार कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

'प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन सङ्घीय सरकार सँग समन्वय गरिरहेको जानकारी गराउँदछौ । यस प्रकार प्रायोजित ढङ्गबाट गरिएका प्रचार र लेखिएका समाचारहरूमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।