धरान : गएको बिहीबार साँझ अस्थायी प्रहरी चौकी धरान-१५ मा आक्रमण गर्नेहरू मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कति जना कोको पक्राउ परे यसबारेमा भने धरान प्रहरीले खुलाएको छैन । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले भने, घटनाको अनुसन्धानकै क्रममा रहेकोले अहिले सम्मको विवरण नभनिएको र केही प्रगति प्रहरीले गरेको दाबी गरेका छन् ।

तीन दिन बिती सक्दा पनि प्रहरी चौकीमा हतियार सहित आएर प्रहरी माथि नै आक्रमण गर्नेहरू पक्राउ गर्न नसक्नुलाई धरानवासीले चासोका साथ हेरेका छन् । सामाजिक सञ्जालहरूमा प्रहरी चौकी आक्रमणको बारेमा संचारकर्मीहरुले सत्य तथ्य बुझेर लेख्नुपर्ने उल्लेख गरेका छन् । स्रोतका अनुसार अहिले सम्म सो घटनामा संलग्न ३ जना युवाहरू पक्राउ परिसकेका छन् ।

उनीहरूको बारेमा भने प्रहरीले केही भनेको छैन । घटना घटेकै समयमा प्रहरी चौकीमा धम्की दिएको भन्दै आई पुगेका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । केही प्रगति भएको भनिएको सो घटनाको प्रहरीले गम्भीरताका साथ अनुसन्धान जारी रहेको र थुप्रै युवाहरू संलग्न भएकाले केहीलाई पक्राउ गरिएको भए पनि उनीहरूको बारेमा प्रहरीले केही भनेको छैन । घटनाका मुख्य नाइके समेत पक्राउ परिसकेको स्रोतको दाबी छ ।

हतियारधारी युवाहरूको समूहले प्रहरी चौकीमा आक्रमण गर्नु पहिले दुई युवा आफूलाई धम्की दिएको भन्दै प्रहरी चौकी आएर उजुरी गर्दै थिए । सो क्रममा चौकीका हवलदार विजय यादवले धम्की दिनेहरूलाई फोन गरेर सम्झाउँदै गर्दा उनीहरू त्यही आई पुगेका थिए ।

उजुरी दिने दुई जनालाई बाहिर निकाल भन्दै हतियार सहित आई पुगेका युवाहरूले प्रहरी चौकी तोडफोड गर्नुको साथै प्रहरी चौकीका प्रमुख असई सुमन दाहाललाई आक्रमण गरे । उनी सँगै अरू दुई प्रहरी पनि घाइते भए ।

सो घटना पछि अहिले सम्म प्रहरी चौकीमा आएर आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गर्‍यो की गरेन ? यसबारेमा कुनै जानकारी सञ्चारकर्मीहरूलाई दिइएको छैन । यसले गर्दा प्रहरीनै असुरक्षित भएको भन्दै धरानवासीले सामाजिक सञ्जालहरूमा चिन्ता व्यक्त गर्न थालेका छन् । घटनाको चाडै सत्य तथ्य बाहिर ल्याउनुपर्ने उनीहरूको धारणा छ ।