धरान : धरानमा पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गइरहेको अवस्थामा धरान उपमहानगरपालिकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि खोप खरिद गर्ने भएको छ ।

सङ्घीय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिका क्षेत्र भित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खोप खरिद गर्ने भएको हो ।

मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पत्र पठाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै श्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गरेका छन् ।

उक्त एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनको लागि दुई लाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गरेका हुन् । धरानवासी स्वास्थ्य भए मात्रै नगर विकासको कार्य अगाडी बढ्ने मेयर राईले बताएका छन् ।

धरानमा कोरोनाको दोश्रो लहरबाट १६८६ जनामा सङ्क्रमण देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

Sweekrit-Patra