धरान : धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा धरान–१९ स्थित हरियाली सामुदायिक वनको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सुचारु भएको छ ।

कोभिड सङ्क्रमितका लागि २५ बेड क्षमता रहेको आइसोलेसन सेन्टर जेठ १ गतेबाट सञ्चालनमा आएको हो । हाल उक्त आइसोलेसन सेन्टरमा ७ जना कोभिड सङ्क्रमित बिरामी बसिरहेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई र सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बु सहितको टोलीले आइतबार आइसोलेसन सेन्टरको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा मेयर राईले आइसोलेसनमा बसेका कोभिड सङ्क्रमितहरूको अवस्था र व्यवस्थापनको बारेमा जानकारी लिएका थिए । पत्रकार महासङ्घका अध्यक्ष राईले धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा पत्रकार महासङ्घको पनि सहकार्य रहेको बताए । उनले कोभिड सङ्क्रमित भएका सुनसरी भरिका पत्रकारहरूका लागि आइसोलेसनमा बस्न आवश्यक रहेको खण्डमा हरियालीमा राख्न सकिने बताए ।

उक्त अक्सिजन सहितको आइसोलेसन सेन्टरमा धरान उपमहानगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ । आइसोलेसनमा बसेका सङ्क्रमितहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मी दिपकला राईले जानकारी दिइन् ।

खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ । आइसोलेसन सेन्टरमा बसेका सङ्क्रमितहरूका लागि खेलकुदका सामाग्रीहरू पनि व्यवस्थापन गरिएको छ ।