धरान : धरान उपमहानगरपालिकाका १४ हजार जनाले लगाएको कोरोना विरुद्धको खोपको दोस्रो डोज तीन महिना पुग्नै लाग्दा पनि कहिले दोस्रो डोज खोप लगाउन पाउने हो अनिश्चित भएको छ ।

नेपाल सरकारले कोरोना विरुद्धको भारतीय खोप कोभिसिल्डको पहिलो लटमा फ्रन्ट लाइनमा खटेकाहरू स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षा निकायकालाई लक्षित गरेर माघ १४ देखि २३ गते सम्म, फ्रन्टलाइनमा खटेकाहरू र ज्येष्ठ नागरिक र सवारी चालक, सहचालकहरूलाई लक्षित गरेर फागुन ३ गते देखि ११ गते सम्म र फागुन २३ गते देखि चैत्र ३ गते सम्म खोप अभियान सञ्चालन गरेको थियो ।

सो क्रममा धरानमा खोप लगाएकाहरू मध्ये फागुन २३ गते देखि चैत्र ३ गते सम्म कोरोना विरुद्धको खोप लगाउने फ्रन्टलाइनमा खटेकाहरू, ज्येष्ठ नागरिक, सवारी चालक र सहचालक लगायतको १४ हजार जनाले दोस्रो डोज खोप तोकिएको अवधि गुज्रिदा पनि खोप आउने टुङ्गो अझै नलागेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

पहिलो र दोस्रो पटकको कोरोना विरुद्धको खोप अभियानमा भन्दा अन्तिममा ज्येष्ठ नागरिकहरूलाई लगाउने क्रममा धेरै मानिसको सहभागिता रहेको थियो ।

अगाडी माघ १४ देखि फागुन ११ सम्म कोरोना विरुद्धको खोप लगाएकाहरूले वैशाख ७ देखि ११ गते सम्म सञ्चालन भएको दोस्रो लटको खोप कार्यक्रममा दोस्रो डोजको खोप लगाएका छन् ।

बाँकी रहेका माघ १४ देखि फागुन ११ सम्म पहिलो डोज लगाएकाहरू मध्येबाट छुटेका केही र पछिल्लो फागुन २३ देखि चैत्र ३ गते सम्म पहिलो डोज लगाएका गरी १४ हजार जनाको दोस्रो डोजको खोप अनिश्चित भएको हो ।

पहिलो डोज खोप लगाए पछि बढीमा ८ हप्ता भित्रमा अर्को डोजको खोप लगाउनुपर्ने भनिए पनि ३ महिना पुग्न लाग्दा पनि पछिल्लो चरणमा खोप लगाउने धरानका १४ हजार जनाको खोप आउने नआउने अनिश्चित रहेको महाशाखा प्रमुख मेहेताले बताए ।